सुनसरी घटनाले आन्तरिक सुरक्षा प्रणालीमाथि प्रश्न उठायो : सांसद ओली
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले सुनसरीको देवानगञ्ज र हरिनगरमा भएको हिंसात्मक झडप तथा प्रहरीको गोलीबाट नागरिकको मृत्यु भएको घटनाले देशको आन्तरिक सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ओलीले स्थानीय विवादलाई समयमै पहिचान र व्यवस्थापन गर्न सुरक्षा संयन्त्र सक्षम छ कि छैन भन्ने विषयमा सुनसरी घटनाले चेतावनी दिएको उल्लेख गरेकी छन्।
उनले सामान्य विवाद केही घण्टामै हिंसामा परिणत भएर नागरिकको मृत्यु र कर्फ्यु लगाउने अवस्थासम्म पुग्नु गम्भीर विषय भएको बताएकी छन्।
ओलीले प्रारम्भिक सूचना संकलन, जोखिम विश्लेषण, समुदायसँग समन्वय र संयमित सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेकी छन्। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र आन्तरिक सुरक्षा प्रणालीमा सुधार गर्न माग गरेकी छन्।