भरतपुरको औषधि उद्योगमा ग्यास सिलिन्डर विष्फोटमा परी एकजनाको मृत्यु
चितवनको भरतपुरस्थित एक औषधि फ्याक्ट्रीमा एयर कन्डिसनरको कुलिङ ग्यास भर्ने क्रममा सिलिन्डर विष्फोट हुँदा एक जना प्राविधिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१६ स्थित गणेश मन्दिर क्षेत्रमा रहेको रोयल फार्मासिटी औषधि फ्याक्ट्रीको दोस्रो तल्लामा बिहीबार अपराह्न करिब ३:२० बजे उक्त दुर्घटना भएको हो।
बाहिरबाट एसी मर्मत तथा ग्यास भर्न आएका प्राविधिकहरूले काल्टोन ४१० ए नामक ग्यास सिलिण्डर प्रयोग गरी एसीमा कुलिङ ग्यास भरिरहेको अवस्थामा अचानक सिलिण्डर विष्फोट भएको थियो।
विष्फोटमा परी गम्भीर घाइते भएका चितवन भरतपुर महानगरपालिका–१२ बस्ने ३० वर्षीय प्रमोद कोइरालालाई तत्काल उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाइएको थियो ।
तर, उपचारकै क्रममा चिकित्सकले अपराह्न ४:०५ बजे उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी चन्द्रभुषण यादवले जानकारी दिए ।
यस्तै, विष्फोटमा परी पर्सा जिल्ला पर्टेर्वा गाउँपालिका–५ घर भएका २८ वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। देवानको हाल नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र विष्फोटको वास्तविक कारण पत्ता लगाउन प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।