करोडौँको लेनदेन विवादमा सांसद आशिका तामाङको नाम मुछियो, प्रहरीमा उजुरीको तयारी
कुष्मा बुढाथोकी र झापाका जीवनप्रसाद बास्कोटाबीचको करोडौँ रुपैयाँको लेनदेन विवादमा प्रतिनिधिसभा सदस्य आशिका तामाङको नामसमेत जोडिएको छ।
कुष्मा बुढाथोकीको परिवारले बास्कोटाले बिरामी बुबाको उपचार र बीमा गराइदिने बहानामा करिब २ करोड ८ लाख रुपैयाँ ठगी गरेको आरोप लगाएको छ। परिवारले बास्कोटा र आशिका तामाङको नाममा काटिएका ठूलो रकमका चेक बाउन्स भएको भन्दै प्रहरीमा जाहेरी दिन खोजेको जनाएको छ।
प्रहरीले सुरुमा उजुरी लिन आनाकानी गरेको भन्दै पीडित परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा समेत निवेदन दिएका थिए। आयोगको पहलपछि प्रहरीले जाहेरी दर्ता गर्ने आश्वासन दिएको परिवारको भनाइ छ।
यता बास्कोटाले भने ठगी, चेक चोरी र धम्कीका आरोप अस्वीकार गर्दै यो व्यक्तिगत लेनदेनको विषय भएको दाबी गरेका छन्। उनले आशिका तामाङसँग आफ्नो कुनै सम्बन्ध वा मिलेमतो नरहेको बताएका छन्।