तुलसीपुर उपमहानगरले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र, पूर्वाधार निर्माणमा जोड
दाङ — तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा १५ किलोमिटर सडक कालोपत्र गर्दै विभिन्न पूर्वाधार निर्माणका काम सम्पन्न गरेको जनाएको छ।
उपमहानगरपालिका कार्यालयका अनुसार वडा नं. ४ अन्तर्गत रक्षाचौरको चारबाटो चोकदेखि एक्लेवरसम्म दुई किलोमिटर, बाससोतादेखि मटेरासम्म ५५९ मिटर तथा राप्ती राजमार्गदेखि पिलीबोटसम्म दुई किलोमिटर सडक कालोपत्र गरिएको हो।
यसै अवधिमा उपमहानगरले नौ हजार ९५८ मिटर पक्की नाला निर्माण गरेको छ। साथै, तीनवटा वडा कार्यालय भवन निर्माण, एउटा स्वास्थ्य चौकी भवनमा थप तला निर्माण, एउटा माध्यमिक विद्यालयको आठ कोठे भवन तथा अर्को प्राथमिक विद्यालयको दुई कोठे भवन निर्माण सम्पन्न गरिएको छ।
उपमहानगरपालिकाका अनुसार गत आर्थिक वर्षमै व्यवस्थित हाटबजार स्थल तथा रातामाटा सिँचाइ कुलो निर्माणको काम पनि सम्पन्न भएको छ।
स्थानीय सरकारले सडक, शिक्षा, स्वास्थ्य र सिँचाइलगायतका पूर्वाधार विकासलाई प्राथमिकता दिँदै विकास निर्माणका कामलाई निरन्तरता दिएको जनाएको छ।