नारायणगढ–मुग्लिन सडकमा ढिस्को काट्न दैनिक केही घण्टा सवारी रोक्ने तयारी
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो नियन्त्रणका लागि सडक नै रोकेर ढिस्को काट्ने तयारी गरिएको छ। डिभिजन सडक कार्यालय चितवनले निर्माण कम्पनीलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ।
कार्यालयका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयसँग छलफल गरी सवारी रोक्ने समय तय गरिनेछ। दिउँसो सवारी चाप कम हुने समयमा दैनिक दुई–तीन घण्टा सडक बन्द गरेर काम गर्ने योजना रहेको छ।
निर्माण कम्पनीले तुइन खोलामा एक्साभेटर र लोडर पुर्याइसकेको छ। करिब दुई महिनाभित्र जोखिमपूर्ण ढिस्को हटाउने लक्ष्य राखिएको छ।
राजधानी जोड्ने मुख्य सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकमा दैनिक करिब १० हजार सवारीसाधन सञ्चालन हुने गर्छन्। तुइन खोलाको पहिरो नियन्त्रणका लागि बाबरी कन्स्ट्रक्सनले २२ करोड २१ लाख रुपैयाँमा ठेक्का पाएको छ।
पहिलो चरणमा जोखिमपूर्ण ढिस्को हटाइने र त्यसपछि ‘नेलिङ’ प्रविधिबाट भित्तो सुरक्षित बनाइनेछ। गत वर्ष तुइन खोलामा पहिरो खस्दा एक सय घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो।