सक्कली बिल लिने उपभोक्तालाई दैनिक १ लाखसम्म पुरस्कार
सरकारले उपभोक्तालाई सक्कली बिल लिन प्रोत्साहित गर्न ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ पुरस्कार योजना कार्यान्वयनमा ल्याउने भएको छ।
योजनाअनुसार दैनिक एक जना उपभोक्ताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने प्रत्येक महिना दुई जना भाग्यशाली विजेताले १०/१० लाख रुपैयाँ बम्पर पुरस्कार प्राप्त गर्नेछन्।
भ्याट र प्यानमा आबद्ध व्यवसायीबाट १०० रुपैयाँभन्दा बढीको सामान खरिद वा सेवा लिँदा प्राप्त हुने सक्कली बिल नम्बरका आधारमा विजेता छनोट गरिनेछ। पुरस्कार घोषणा हरेक महिनाको १६ गते र मसान्तमा गरिने व्यवस्था मिलाइएको छ।