चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आन्दोलन, काठमाडौंमा प्रदर्शन
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक सङ्घले आज देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। आन्दोलनअन्तर्गत चिकित्सकहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
सङ्घले घटनाका दोषीलाई कानुनी कारबाही गर्न सरकार उदासीन रहेको आरोप लगाएको छ। अध्यक्ष डा. बद्री रिजालले घटना भएको पाँच दिन बितिसक्दा पनि दोषी पक्राउ नपरेको र न्याय माग्न गएकामाथि नै दुर्व्यवहार भएको बताए।
चिकित्सक सङ्घले दोषीमाथि तत्काल कारबाही गरी स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ। माग सम्बोधन भए आन्दोलनका कार्यक्रम फिर्ता लिइने सङ्घले जनाएको छ।