क्याटालोनिया संसदका अध्यक्षसँग नेपाली समुदायको भेट
क्याटालोनिया संसदका अध्यक्ष जोसेप रुलसँग नेपालसहित ११ देशका आप्रवासी समुदायका प्रतिनिधिहरूले अन्तरक्रिया गरेका छन्।
गत सोमबार संसद भवनमा आयोजित कार्यक्रममा विभिन्न देशका कन्सुलर प्रतिनिधि तथा आप्रवासी समुदायका अगुवाहरू सहभागी थिए। सहभागीहरूले क्याटालोनियाको संसदीय व्यवस्था, संसदको भूमिका तथा आप्रवासी समुदायसँग सम्बन्धित विभिन्न विषयमा अध्यक्ष रुलसँग छलफल गरेका थिए।
अध्यक्ष रुलले कातालान भाषामा मन्तव्य राख्दै क्याटालोनियामा बसोबास गर्ने सबैका लागि संसद साझा संस्था भएको बताए। लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन संसद नागरिक र समुदायसँग निरन्तर संवादमा रहने उनको भनाइ थियो।
अन्तरक्रियापछि अध्यक्ष रुलले सहभागीहरूलाई संसद भवनको अवलोकन गराएका थिए।उनले संसद भवनको इतिहास, संरचना र विभिन्न सभाकक्षबारे जानकारी दिँदै मुख्य संसद बैठक सञ्चालन हुने हलमा बैठक कसरी सञ्चालन हुन्छ, सांसदहरूको बसाइ व्यवस्था कसरी मिलाइन्छ, संसदको कार्यप्रणाली र निर्णय प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा विस्तृत जानकारी गराएका थिए।
कार्यक्रममा नेपाली समुदायको तर्फबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठ, सामाजिक अगुवा गंगाप्रसाद भुसाल, दिनेश गिरी तथा पत्रकार बसन्त रानाभाट सहभागी थिए।
भेटका क्रममा एनआरएनए स्पेनका अध्यक्ष श्रेष्ठले क्याटालोनियामा बसोबास गर्ने नेपाली समुदायको अवस्था, योगदान तथा समुदायसँग सम्बन्धित विषय समेटिएको ज्ञापनपत्र अध्यक्ष रुललाई हस्तान्तरण गरेका थिए।
स्थानीय राजनीतिक दल ‘जुन्ट्स फर कातालुन्या’ का प्रतिनिधिले कार्यक्रमको उद्देश्य विभिन्न देशका आप्रवासी समुदायका प्रतिनिधिलाई क्याटालोनियाको संसदीय प्रणाली, लोकतान्त्रिक अभ्यास तथा संसदको भूमिकाबारे प्रत्यक्ष जानकारी गराउनुका साथै आपसी संवाद र सहकार्यलाई प्रवर्द्धन गर्नु रहेको बताएका छन्।