जनदबाबपछि युक्रेनी सेनाध्यक्ष सिर्स्की बर्खास्त, द्रापाती नयाँ प्रमुख नियुक्त
काठमाडौं — व्यापक जनप्रदर्शन र राजनीतिक दबाबपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनाध्यक्ष ओलेक्सान्द्र सिर्स्कीलाई पदबाट हटाएका छन्। जेलेन्स्कीले मंगलबार टेलिग्राममार्फत सिर्स्कीको स्थानमा मिखाइलो द्रापातीलाई युक्रेनी सशस्त्र बलको नयाँ कमान्डर–इन–चिफ नियुक्त गरेको घोषणा गरेका हुन्।
जेलेन्स्कीले सिर्स्की र अग्रपंक्तिमा खटिएका सैनिकप्रति धन्यवाद दिँदै युद्धमा विजय हासिल गर्नु र रुसमाथि दबाब बढाउनु युक्रेनको मुख्य लक्ष्य रहेको बताएका छन्।
सिर्स्कीको बर्खास्तीअघि रक्षा मन्त्री मिखाइलो फेदोरोभलाई हटाइएपछि सरकारको आलोचना बढेको थियो। फेदोरोभ र सिर्स्कीबीच युद्ध रणनीति, सैन्य आधुनिकीकरण र सुधारका विषयमा मतभेद रहेको बताइएको थियो। फेदोरोभले सिर्स्कीमाथि सेनाको सुधार प्रक्रिया अवरुद्ध गरेको आरोप लगाएका थिए।
फेदोरोभको बर्खास्तीपछि किभसहित विभिन्न सहरमा हजारौँ युवाले प्रदर्शन गर्दै सिर्स्कीलाई हटाउन र फेदोरोभलाई पुनः जिम्मेवारी दिन माग गरेका थिए। त्यसपछि जेलेन्स्कीले शीर्ष सैन्य अधिकारीहरूसँग छलफल गरी नेतृत्व परिवर्तन गरेका हुन्।
६० वर्षीय सिर्स्की सन् २०२२ मा रुसको आक्रमणबाट किभ रक्षा तथा २०२४ को कुर्स्क क्षेत्रमा भएको युक्रेनी सैन्य अभियानका प्रमुख पात्रमध्ये एक मानिन्छन्। तर, पुराना सैन्य रणनीति र नयाँ प्रविधि तथा सुधारका पक्षधरबीचको मतभेदका कारण उनी आलोचनामा पर्दै आएका थिए।
सिर्स्कीको बर्खास्तीसँगै रुससँगको युद्ध सुरु भएयताकै ठूलो राजनीतिक दबाब र जनआन्दोलनपछिको नेतृत्व परिवर्तन भएको विश्लेषण गरिएको छ।