नागढुंगा सुरुङमार्ग उद्घाटन भोलि, सीमित सवारीलाई मात्र अनुमति
काठमाडौं र धादिङ जोड्ने देशकै पहिलो आधुनिक नागढुंगा सुरुङमार्गको भोलि औपचारिक उद्घाटन हुने भएको छ। बहुप्रतीक्षित राष्ट्रिय गौरवको यस परियोजनालाई उद्घाटनपछि भने सबै प्रकारका सवारीसाधनका लागि तत्काल खुला नगरिने भएको छ।
आयोजना प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्गलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन चरणबद्ध रणनीति अपनाइनेछ। पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधनलगायत आपतकालीन तथा अत्यावश्यक सेवामा प्रयोग हुने सवारीलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ।
उनले सीमित संख्यामा सवारीसाधन सञ्चालन गरेर सुरुङमार्गको सुरक्षा अवस्था, ट्राफिक व्यवस्थापन र सञ्चालन प्रणालीको परीक्षण गरिने जानकारी दिए। सबै सवारीसाधनलाई एकैपटक प्रवेश गराउँदा व्यवस्थापनमा चुनौती आउन सक्ने भएकाले सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो व्यवस्था गरिएको उनले बताए।
आयोजना प्रमुख नेपालका अनुसार परीक्षण अवधि करिब एक सातादेखि १० दिनसम्म रहने अनुमान गरिएको छ। यस अवधिमा प्राप्त अनुभव र प्राविधिक मूल्यांकनका आधारमा सुरुङमार्ग क्रमशः सर्वसाधारणका सवारीसाधनका लागि पनि खुला गरिनेछ।
नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–धादिङ आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ।