लेन्दे खोलाको बाढीपछि एक वर्ष बित्दा पनि रसुवागढी भन्सार यार्ड पुनःस्थापना भएन
रसुवा । चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढीस्थित रसुवा भन्सार कार्यालयको यार्ड लेन्दे खोलाको बाढीले क्षति पुर्याएको एक वर्ष बितिसक्दा पनि पूर्ण रूपमा पुनःस्थापना हुन सकेको छैन।
२०८१ असारमा आएको भीषण बाढीले भन्सार यार्ड, निर्माणाधीन एकीकृत जाँच चौकी, तटबन्ध र नेपाल–चीन जोड्ने मितेरी पुलमा ठूलो क्षति पुर्याएको थियो। मितेरी पुल अस्थायी रूपमा पुनःनिर्माण भएपछि आयात–निर्यात सञ्चालनमा आए पनि यार्ड अझै जोखिमपूर्ण अवस्थामै रहेको छ।
बाढीले ल्याएका ठूला ढुङ्गा, क्षतिग्रस्त संरचना र सीमित स्थानका कारण मालवाहक कन्टेनर तथा विद्युतीय सवारीसाधन व्यवस्थापनमा समस्या भइरहेको भन्सार कार्यालयले जनाएको छ।
रसुवा भन्सारका अनुसार चीनबाट तयारी पोसाक, विद्युतीय तथा इलेक्ट्रोनिक सामग्री, फलफूल र विद्युतीय सवारीसाधनको आयात बढिरहेको छ। तर यार्ड पुनःनिर्माण नहुँदा ईभी गाडी सडक किनार र स्थानीयको जग्गा भाडामा राख्नुपर्ने अवस्था रहेको छ।
भन्सार कार्यालयले सम्भावित बाढी र पहिरो जोखिम न्यूनीकरणका लागि चीन सरकारको निर्माण टोलीसँग समन्वय गर्दै अस्थायी तटबन्ध निर्माणको पहल गरिरहेको जनाएको छ। भौगोलिक कठिनाइका कारण वर्षायाममा पहिरो, बाढी र ढुङ्गा खस्ने जोखिम अझै कायम रहेको छ।