प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म कूटनीति क्षेत्रका व्यक्ति र केही औपचारिक भेटघाटमा मात्रै सीमित रहेका थिए । तर, अघिल्लो साताबाट भने प्रधानमन्त्री शाहले औद्योगिक व्यावसायिक क्षेत्रका प्रतिनिधिसँगको भेटघाटलाई निकै तीव्रता दिएका छन् ।
असारको २४ गतेबाट निजी क्षेत्रसँग भेटघाट सुरु गरेका उनले बिहीबारसम्म विभिन्न ८ वटा क्षेत्रका नेतृत्व तथा प्रतिनिधिहरूसँग भेटघाट गरे ।
असार २४ गते प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका नेतृत्व र प्रतिनिधिलाई बोलाएर लगानीको वातावरण र व्यवसायको अवस्थाको बारेमा छलफल गरेका थिए । त्यस्तै, उनले २५ गते निर्माण व्यवसायी, २६ गते उर्जा उत्पादक, ३० गते विश्वविद्यालयका उपकुलपति, ३१ गते होटल संघ र असार ३२ गते महिला उद्यमीसँग छलफल गरे ।
असारको अन्तिम साता सुरु गरेको छलफललाई निरन्तरता दिँदै प्रधानमन्त्री बालेनले साउन १ गते जुत्ता उत्पादक, ४ गते पुँजी बजार र बिमा सरोकारवाला र साउन ६ गते नेपाल हस्तकला महासंघका नेतृत्व तथा प्रतिनिधिसँग छलफल गरे । त्यस्तै, उनले बिहीबार आज अर्गानिक संघका पदाधिकारीसँग छलफल गरेका छन् ।