एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा दुई पक्राउ, छानबिन समिति गठन
काठमाडौं — त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस) को प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा आइतबार बिहान उनीहरूलाई पक्राउ गरिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुवैलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
गत साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि घटनाको अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्काय डिनको कार्यालयले साइबर ब्यूरोलाई पत्राचार गरेको थियो।
यसैबीच, परीक्षा नियन्त्रण महाशाखाले घटनाको सत्यतथ्य छानबिन गर्न प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालन समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा सदस्य रहेका छन्।
समितिलाई घटनाको अध्ययन गरी सात कार्यदिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।