गृहमन्त्री गुरुङ रसुवागढी नाकामा, दुर्घटनास्थलमा खोज तथा उद्धारमा पनि सहभागी
रसुवा — गृहमन्त्री सुदन गुरुङ नेपाल–चीन सीमा नाका रसुवागढी पुगेका छन्। आइतबार बिहान रसुवागढी पुगेका मन्त्री गुरुङले नाकाबाट हुन सक्ने तस्करी तथा भन्सार छली नियन्त्रणका विषयमा छड्के अनुगमन गर्ने बताइएको छ।
तस्करी र भन्सार छलीबारे स्थलगत निरीक्षण गर्न मन्त्री गुरुङ शनिबार काठमाडौंँबाट रसुवातर्फ प्रस्थान गरेका थिए। रसुवामा कार्यरत एक प्रहरी अधिकारीका अनुसार उनी स्याफ्रुबेँसी हुँदै रसुवागढी नाकामा पुगेका हुन्। उनी बा २ झ ४४६ नम्बरको सरकारी गाडीमा रसुवा पुगेका थिए।
रसुवा जाने क्रममा शनिबार गोसाइँकुण्ड गाउँपालिका–५ स्थित पासाङ ल्हामु सडकखण्डमा भएको सवारी दुर्घटनापछि मन्त्री गुरुङ दुर्घटनास्थल पुगेका थिए। स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको परीक्षण नगरिएको विद्युतीय गाडी चिलिमे हाइड्रोपावरको पावर हाउस नजिकै त्रिशूली खोलामा खसेको थियो।
दुर्घटनास्थलमा पुगेका मन्त्री गुरुङ खोज तथा उद्धार कार्यमा समेत सहभागी भएका थिए। भन्सार जाँच पास भएर आएको एसआरएम कम्पनीको उक्त गाडीका चालक रसुवाको कालिका गाउँपालिका निवासी २२ वर्षीय सविन तामाङ अझै सम्पर्कविहीन छन्।
नदीमा खसेको गाडी र चालकको अवस्था अझै पत्ता लाग्न नसकेको रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाले जानकारी दिएका छन्। अहिले पनि सुरक्षा निकायको टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।