पुनर्वास नगरपालिकाद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण
कञ्चनपुर, पुनर्वास नगरपालिकाले विपद् व्यवस्थापन तथा बाढी उद्धार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बललाई उद्धार सामग्री हस्तान्तरण गरेको छ।
दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिका दोदा नदीको कटान तथा वर्षायाममा हुने डुबानबाट प्रभावित हुँदै आएको छ। सम्भावित विपद्का बेला उद्धार तथा राहत कार्यलाई सहज बनाउन नगरपालिकाले एक थान रबर बोट, १० थान लाइफ ज्याकेटलगायतका सामग्री उपलब्ध गराएको हो। सशस्त्र प्रहरी बल नं. ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार उक्त सामग्री पुनर्वासस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बीओपी) लाई हस्तान्तरण गरिएको छ।
यसैबीच, सशस्त्र प्रहरी बल नं. ७ वैद्यनाथ बाहिनी अत्तरियाले मंगलबार पुनर्वास नगरपालिकामा सीमावासीसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवालाबीच सीमा क्षेत्रमा देखिएका समस्या, लागूऔषध नियन्त्रण, तस्करी, मलखाद अभाव, सीमा विवाद तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको थियो।
अन्तरक्रियामा स्थानीयवासीले भारतबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइने सामान्य घरायसी सामानमा अनावश्यक दुःख नदिन आग्रह गरेका थिए। अखाद्य वस्तु र तस्करीजन्य सामग्री छुट्याएर मात्र कारबाही गर्नुपर्ने, नेपालमा कुखुरा पालनलाई असर पर्ने गरी भारतबाट हुने अवैध आयात रोक्नुपर्ने तथा लागूऔषध नियन्त्रणमा प्रभावकारी जनशक्ति परिचालन गर्नुपर्ने सुझाव पनि उनीहरूले दिएका थिए।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले कञ्चनपुरमा हाल चार वटा सीमा सुरक्षा पोस्टमा नयाँ भवन निर्माण सम्पन्न भइसकेको र आगामी वर्ष थप तीन वटा बीओपीमा भवन निर्माण प्रक्रिया अघि बढ्ने जानकारी दिए।
उनले व्यक्तिगत प्रयोजनका लागि पाँच सय रुपैयाँभन्दा बढी मूल्यका सामान नल्याउन आग्रह गर्दै विवाह, पूजा वा अन्य बहानामा हुने तस्करी नियन्त्रणमा कडाइ गरिने बताए। खराब नियतका सुरक्षाकर्मीमाथि तत्काल कारबाही हुने उल्लेख गर्दै किसानलाई आवश्यक मल ल्याउन सहजता दिइने तर तस्करीमा संलग्नमाथि कडा कारबाही गरिने स्पष्ट पारे।
सुवेदीले गत वर्षको असारको तुलनामा यस वर्ष ६५ प्रतिशत राजस्व वृद्धि भएको जानकारी दिँदै सीमा विवाद समाधानका लागि नेपाल–भारतका प्राविधिक टोलीले काम गरिरहेको र विपद् व्यवस्थापनमा स्थानीय तहसँग समन्वय भइरहेको बताए। साथै, विपद् स्वयंसेवक परिचालन तथा ‘लुना एप’ प्रणाली सञ्चालनमा ल्याइएको जानकारी पनि दिए।
पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले सर्वसाधारणलाई दैनिक उपभोगका सामान्य घरायसी सामान भारतबाट ल्याउँदा सहज वातावरण बनाउन आग्रह गर्दै तस्करी, अखाद्य वस्तु, मदिरा तथा अन्य अवैध सामग्रीमाथि भने कडाइ गर्नुपर्नेमा जोड दिए। उनले लागूऔषध पुनर्वास नगरपालिकाका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै केही स्थानीय युवा यसको चपेटामा परेको बताए।