मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याउँदै सरकार
जनकपुर: कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा सिँचाइको दीर्घकालीन व्यवस्थापन र माटोको उर्वराशक्ति सुधारका लागि विशेष रणनीति ल्याउन लागिएको बताएकी छन्।
आइतबार धनुषाको अनुगमनका क्रममा जनकपुरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले कृषि र सिँचाइ मन्त्रालयबीच सहकार्य गरी एकीकृत योजना अघि बढाइने जानकारी दिइन्।
उनले सिँचाइ र कृषि क्षेत्रलाई अलग–अलग नभई एउटै इकाइका रूपमा विकास गर्न सके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने बताइन्। मधेश प्रदेशको कृषि उत्पादन वृद्धि गर्न सिँचाइ सुविधा विस्तारसँगै माटोको गुणस्तर सुधारमा पनि विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
मन्त्री चौधरीले मधेशको माटोमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोगका कारण जैविक पदार्थ घट्दै गएकोमा चिन्ता व्यक्त गरिन्। उनले माटोको उर्वराशक्ति संरक्षणका लागि दीर्घकालीन रूपमा प्राङ्गारिक तथा जैविक खेती प्रणालीलाई प्रवर्द्धन गरिने बताइन्।
यसका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र कृषि आधुनिकीकरण परियोजनाको सहकार्यमा १० वटा नमुना पालिका छनोट गरी ‘माटो सुधार परियोजना’ सञ्चालन गरिने उनले जानकारी दिइन्।
त्यस्तै, धनुषाको संरक्षित क्षेत्रलाई समेटेर मधेश प्रदेशमा एउटा प्राणी उद्यान निर्माण गर्ने योजना अघि बढाइएको मन्त्री चौधरीले बताइन्। प्राविधिक टोलीको अध्ययनपछि निर्माण प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ।
अनुगमनका क्रममा मन्त्री चौधरीले धनुषाका माछापालक किसान, आँप उत्पादक तथा सहकारी प्रतिनिधिसँग भेट गरी कृषि प्रविधि, बीउबिजनको उपलब्धता र किसानका समस्याबारे जानकारी लिएकी थिइन्।