स्थानीयको एकताबद्ध संघर्ष सफल: महिनौँदेखि बन्द सार्वजनिक सडक सञ्चालनमा
दाङको घोराही उपमहानगरपालिका–४ भकारेमा महिनौंदेखि एक व्यक्तिद्वारा अवरुद्ध गरिएको सार्वजनिक सडक स्थानीयवासीको सक्रिय सहभागिता तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको नेतृत्वमा सञ्चालन गरिएको जनसंघर्षपछि पुनः खुलाइएको छ।
पार्टीका दाङ जिल्ला सचिव मोतिराम खड्काको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, सर्वसाधारण तथा पार्टीका नेता–कार्यकर्ताहरूको संयुक्त उपस्थितिमा सार्वजनिक सडक खुलाउने अभियान सञ्चालन गरिएको हो। लामो समयदेखि बन्द रहेको उक्त सडकका कारण स्थानीय नागरिकले दैनिक आवतजावत, कृषि कार्य, विद्यार्थीको विद्यालय आवागमन तथा बिरामी ओसारपसारजस्ता अत्यावश्यक कार्यमा समेत सास्ती व्यहोर्दै आएका थिए। पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान हुन नसकेपछि स्थानीय जनताले जनसंघर्षको बाटो रोजेका हुन्।
पार्टीका जिल्ला सचिव मोतिराम खड्काका अनुसार सार्वजनिक बाटोको विवाद समाधानका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको न्याय विभागमार्फत पटक–पटक सम्बन्धित पक्षसँग वार्ता, संवाद तथा छलफलको पहल गरिएको थियो। तर, बाटो अवरुद्ध गर्ने पक्ष वार्तामा नआएको र समस्याको शान्तिपूर्ण समाधानतर्फ कुनै चासो नदेखाएपछि अन्ततः स्थानीय जनताको सहभागितामा जनसंघर्षमार्फत सार्वजनिक सडक खुलाउनु परेको उनले जानकारी दिए।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनताका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या समाधानलाई प्राथमिकतामा राख्दै पार्टीभित्र छुट्टै न्याय विभाग गठन गरेको जनाएको छ। उक्त विभागमार्फत स्थानीय स्तरमा उत्पन्न हुने विवादहरूलाई वार्ता, संवाद, मेलमिलाप र तथ्यका आधारमा समाधान गर्ने अभ्यासलाई अघि बढाइएको पार्टीको दाबी छ। विभिन्न जिल्लामा न्याय विभागले जनताका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्दै आएकाले स्थानीय तहमा यसको चर्चा र विश्वास बढ्दै गएको पार्टीको भनाइ छ।
पार्टीले जनताको आधारभूत अधिकारमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेपविरुद्ध आफ्नो संघर्ष निरन्तर रहने जनाएको छ। सार्वजनिक सडक, पँधेरा, वन, खोलानाला तथा साझा सम्पत्तिमाथि कुनै व्यक्ति वा समूहले एकल नियन्त्रण कायम गर्न खोजे त्यसविरुद्ध कानुनी प्रक्रिया, संवाद र आवश्यक परे जनसंघर्षमार्फत प्रतिवाद गरिने नीति पार्टीले अवलम्बन गरेको जनाएको छ।
पार्टीका अनुसार जनताको दैनिकीसँग प्रत्यक्ष सम्बन्धित समस्यालाई केवल भाषण र घोषणामा सीमित नराखी व्यवहारिक रूपमा समाधान गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको छ। स्थानीय बासिन्दाले पनि महिनौंदेखि बन्द रहेको सार्वजनिक सडक खुलाइएपछि सहज आवतजावत हुन थालेको भन्दै अभियानमा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन्।
जिल्ला सचिव मोतिराम खड्काले जनताको साझा अधिकार कुनै पनि व्यक्ति वा समूहको निजी स्वार्थभन्दा माथि हुने उल्लेख गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक न्याय र नागरिकको सहज जीवन सुनिश्चित गर्न आगामी दिनमा पनि पार्टी जनतासँगै उभिएर संघर्ष गर्ने बताए।
विशेषगरी ४ नम्बर क्षेत्रीय ब्युरो अन्तर्गत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संगठन विस्तारसँगै जनजीविकासँग प्रत्यक्ष जोडिएका मुद्दाहरूलाई प्राथमिकतामा राख्दै जनपक्षीय अभियानलाई तीव्र बनाइरहेको जनाएको छ। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सार्वजनिक सम्पत्ति संरक्षण तथा सामाजिक न्यायका विषयमा स्थानीय जनतासँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता समेत पार्टीले व्यक्त गरेको छ।
स्थानीय बासिन्दाहरूका अनुसार महिनौंदेखि अवरुद्ध सार्वजनिक सडक पुनः सञ्चालनमा आएपछि दैनिक जीवन सहज बनेको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र नागरिकको अधिकार सुनिश्चित गर्न सामूहिक पहल तथा संवादको प्रयास असफल भएपछि गरिएको जनसहभागितामूलक अभियानले स्थानीय तहमा समस्या समाधानको एउटा उदाहरण प्रस्तुत गरेको उनीहरूको भनाइ छ।