२४ घण्टामा देशभर ६२ विपद्का घटना, २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ६२ वटा विपद्जन्य घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी २६ वटा पहिरो, १३ वटा सर्पदंश, ८ वटा बाढी, ८ वटा आगलागी, ५ वटा चट्याङ र ५ वटा जनावर आक्रमणका घटना भएका छन्।
विपद्का कारण ३६ घरपरिवार प्रभावित भएका छन्, ११ वटा सडक अवरुद्ध भएका छन् भने करिब १२ लाख ७९ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ। मनसुन सक्रिय रहेकाले बाढी, पहिरो र चट्याङबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।