सांसद गणेश पौडेलमाथि दुर्व्यवहार गर्ने दुई जना पक्राउ
रौतहट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि दुर्व्यवहार गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गत साउन ७ गते साँझ गढीमाई नगरपालिका–७ पर्सा गाउँस्थित मठ मन्दिर नजिक सांसद पौडेलले जनतासँग गुनासो सुनुवाइ गरिरहेका बेला केही व्यक्तिहरूले ‘मधेश मुक्ति अभियान जिन्दाबाद’ लगायतका नारा लेखिएका पर्चा छरेका थिए। उनीहरूले सांसद पौडेलमाथि पछाडिबाट कालो मसी छ्यापेर भागेका थिए।
घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाबाट संयुक्त रूपमा खटिएको टोलीले अनुसन्धानका क्रममा संलग्न देखिएका दुई जनालाई बुधबार पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये गढीमाई नगरपालिका–५ का स्थायी बासिन्दा भई वडा ७ धनहारी गाउँ बस्ने २० वर्षीय शेख इवरान र गढीमाई नगरपालिका–३ गम्हरिया गाउँका १९ वर्षीय ईर्फान अन्सारी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमले बताएका छन्।
उनीहरूमाथि 'अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने' कसुरमा अनुसन्धान अघि बढाइएको रौतहटका प्रवक्ता डीएसपी गौतमले जारी गरेको सूचनामा उल्लेख छ।
प्रहरीले रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्य पनि तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।