बागमतीका १० जिल्लामा एक वर्षमा १ हजार ९२४ सडक दुर्घटना, ३४० जनाको मृत्यु
काठमाडौं — बागमती प्रदेशका काठमाडौं उपत्यकाबाहेकका १० जिल्लामा गत आर्थिक वर्षमा १ हजार ९२४ वटा सडक दुर्घटना भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार ती दुर्घटनामा परी ३४० जनाले ज्यान गुमाएका छन् भने तीन हजार ७६३ जना घाइते भएका छन्।
कार्यालयका अनुसार सबैभन्दा धेरै दुर्घटना चितवनमा भएका छन्। चितवनमा मात्रै ५४५ वटा दुर्घटना भएका छन्। यस्तै, सबैभन्दा कम दुर्घटना रामेछापमा भएका छन्, जहाँ एक वर्षमा ४७ दुर्घटना भएको तथ्यांक छ।
दुर्घटनाको संख्याका आधारमा मकवानपुर दोस्रो, धादिङ तेस्रो र सिन्धुली चौथो स्थानमा रहेका छन्। त्यसपछि काभ्रे, रसुवा, सिन्धुपाल्चोक र रामेछाप रहेका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार एक वर्षमा भएका दुर्घटनामध्ये मुख्य राजमार्गमा सबैभन्दा धेरै दुर्घटना भएका छन्।
उनका अनुसार मुख्य राजमार्गमा १ हजार ११४, ग्रामीण सडकमा ५३९ र सहरी क्षेत्रमा २७१ वटा दुर्घटना भएका छन्।
समयका आधारमा दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सबैभन्दा धेरै ७४० दुर्घटना भएका छन्। यस्तै, साँझ ६ बजेदेखि राति १२ बजेसम्म ५७२, बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म ४९४ र राति १२ बजेदेखि बिहान ६ बजेसम्म ११८ वटा दुर्घटना भएका छन्।
तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा बागमती प्रदेशका ती १० जिल्लामा २ हजार ४१२ वटा दुर्घटना भएका थिए। ती दुर्घटनामा ३०४ जनाको मृत्यु भएको थियो भने चार हजार ७४७ जना घाइते भएका थिए।