सांसद अभिषेकप्रताप साहलाई पक्राउ नगर्न सर्वोच्चको अल्पकालीन आदेश
काठमाडौं — नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सांसद साहविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न बुधबार आदेश दिएको हो।
सांसद साहले आफूविरुद्ध जारी पक्राउ पुर्जी बदरको माग गर्दै मंगलबार गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।
कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित साहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप लागेको थियो। सार्वजनिक भएको भिडियोमा सांसद साह र कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप साहसहितको समूह शर्माको निवासमा पुगेको देखिएको थियो।
घटनापछि शर्माले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान अघि बढेको थियो। सोही जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि सांसद साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।