सुनसरी तनावबारे सर्वदलीय बैठकमा लिङ्देनको आग्रह : दीर्घकालीन समाधान खोज्नुपर्ने
सुनसरीमा देखिएको तनावपूर्ण अवस्थाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहलमा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक संवेदनशीलता र सामाजिक सद्भाव कायम गर्न सबै पक्षलाई आग्रह गरेका छन्।
बैठकमा बोल्दै लिङ्देनले तराई–मधेसका धार्मिक गतिविधि र चाडपर्वका क्रममा पटक–पटक तनाव सिर्जना हुने गरेको दाबी गर्दै यस्ता घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताए। उनले कप्तानगञ्ज घटनालाई समयमै सम्बोधन गरी दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरे।
लिङ्देनले घटनाको वास्तविक कारण पहिचान गर्न तत्काल आयोग गठन गरी संवादमार्फत समाधान खोज्नुपर्ने धारणा राखे। उनले मोरङ जिल्ला प्रशासनले धार्मिक अनुष्ठानमा ध्वनि प्रयोगसम्बन्धी जारी गरेको सूचनामाथि पनि प्रश्न उठाउँदै प्रशासनको भूमिका निष्पक्ष हुनुपर्ने बताए।
उनले कप्तानगञ्ज घटनाका मृतक परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरे। साथै, संविधानले सुनिश्चित गरेको धर्म, संस्कृति र परम्परा पालन गर्ने नागरिक अधिकारको संरक्षण गर्न राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिए।
सामाजिक सद्भाव, आपसी एकता र शान्ति कायम राख्न सबै पक्ष संयमित भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।