पूर्व डीआईजी अर्जुन चन्दको उपचारका क्रममा निधन
ललितपुर । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको उपचारका क्रममा निधन भएको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा बुधबार बिहान ६:५५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
जानकारीअनुसार ललितपुर महानगरपालिका–१८ नख्खु श्रीजनामार्गस्थित आफ्नै निवासमा गत असार ५ गते राति करिब ९ बजे एक्कासि लडेर घाइते भएका चन्दलाई तत्काल अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि सोही दिन उनलाई डिस्चार्ज गरिएको थियो।
तर, असार १० गते दिउँसो पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई फेरि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको अवस्थामा उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र अन्ततः उपचारकै क्रममा निधन भएको जनाइएको छ।
पूर्व डीआईजी चन्द नेपाल प्रहरीका वरिष्ठ अधिकृतमध्ये एक हुन्। उनी उमेरहदका कारण गत वर्ष प्रहरी सेवाबाट अनिवार्य अवकाशमा गएका थिए। प्रहरी सेवामा रहँदा उनले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए।
उनको निधनसँगै नेपाल प्रहरी संगठनमा शोकको माहोल छाएको छ।