गुल्मीमा जङ्गली जनावर धपाउने विद्युतीय पासोमा परेर महिलाको मृत्यु
गुल्मी । धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार गएराति करिब १:३० बजे घाइते अवस्थामा भेटिएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृतकका श्रीमान् भेषराज भण्डारीले घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा बँदेललगायतका जङ्गली जनावर नियन्त्रण गर्न बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर विद्युतीय पासो बनाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
घटनापछि मृतकका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली बिहानै घटनास्थल पुगेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
विद्युतीय पासोका कारण भएको यो घटनाले ग्रामीण क्षेत्रमा जङ्गली जनावर नियन्त्रणका नाममा अपनाइने जोखिमपूर्ण अभ्यासबारे प्रश्न उठाएको छ।