कीर्तिपुरको चाँदनीचोकमा कारभित्र जलेको अवस्थामा शव फेला
काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार स्थानीयले कारभित्र एक व्यक्ति जलेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको हो।
प्रहरीका अनुसार घटनाको प्रकृति, मृतकको पहिचान र आगलागीको कारणबारे तत्काल खुल्न सकेको छैन। घटनास्थलको मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा प्राविधिक परीक्षणलगायतका अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाका सबै पक्षबाट अनुसन्धान भइरहेको र थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।