बागमतीमा स्वास्थ्य सेवा विस्तार, प्रदेश अस्पतालमा विशिष्टीकृत उपचार थपिँदै
काठमाडौं । बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै प्रदेश मातहतका अस्पतालमा विशिष्टीकृत उपचार सेवा विस्तार गरेको जनाएको छ। प्रदेश सरकारका अनुसार अस्पतालहरूमा नयाँ सेवा थपिएसँगै स्वास्थ्य उपचार थप प्रभावकारी बन्दै गएको छ।
स्वास्थ्यमन्त्री किरण थापा मगरका अनुसार भक्तपुर अस्पताल, धादिङ अस्पताल, त्रिशूली अस्पताल, बकुलहर रत्ननगर अस्पताल तथा हेटौँडा अस्पतालमा २२ वटा डायलासिस मेसिन थप गरी सेवा विस्तार गरिएको छ।
प्रदेश सरकारले क्यान्सर उपचारमा थप ५० हजार रुपैयाँसम्म सहुलियत दिने कार्यक्रमअन्तर्गत १८ अस्पतालसँग सम्झौता गरी सेवा प्रदान गरिरहेको जनाएको छ। हृदयाघातका बिरामीलाई उपचार सहुलियत दिने कार्यक्रम पनि जारी रहेको छ।
भक्तपुर अस्पतालमा स्ट्रोक म्यानेजमेन्टसहित स्नायुरोग विशेषज्ञ सेवा, हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा तथा धादिङ र सिन्धुली अस्पतालमा विशेषज्ञ चिकित्सक परिचालन गरी उपचार सेवा विस्तार गरिएको छ।
त्यस्तै, चौतारा अस्पताल र हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्य वार्ड सञ्चालनमा ल्याइएको छ भने भक्तपुर अस्पतालबाट अल्जाइमरसम्बन्धी सेवा पनि सुरु गरिएको छ। प्रदेशका १३ वटै जिल्लामा जनस्वास्थ्य तथा पोषण अभियान र विशेषज्ञ स्वास्थ्य शिविरमार्फत सेवा विस्तार गरिएको प्रदेश सरकारले जनाएको छ।