मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार राति करिब साढे १२ बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली मिनी ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको घरमा ठोक्किएको थियो।
दुर्घटनामा जितपुरसिमरा–८ का ४० वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए। उपचारका क्रममा प्रादेशिक अस्पताल कलैयामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा ५० वर्षीय देवनारायण चौधरी घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनापछि ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९ का २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।