युद्ध प्रभावकारी बनाउन युक्रेनले फेर्यो सैन्य नेतृत्व, द्रापाती बने नयाँ सेना प्रमुख
काठमाडौं — रुसविरुद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित युक्रेनले आफ्नो सैन्य नेतृत्वमा व्यापक फेरबदल गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सार्वजनिक दबाब र युद्ध रणनीतिमा सुधारको आवश्यकतालाई ध्यानमा राख्दै सेना प्रमुखसहित उच्च सैन्य नेतृत्व परिवर्तन गरेका हुन्।
सरकारी पुनर्गठनसँगै निवर्तमान सेना प्रमुख जनरल ओलेक्सान्डर सिरस्की र रक्षामन्त्री मिखाइलो फेडोरोभ पदबाट बाहिरिएका छन्। उनीहरूबीच युद्ध सञ्चालन र सैन्य सुधारका विषयमा मतभेद देखिएको बताइएको थियो।
युक्रेनले नयाँ सेना प्रमुखका रूपमा ४३ वर्षीय मेजर जनरल मिखाइलो द्रापातीलाई नियुक्त गरेको छ। सन् २०१४ मा क्रिमिया कब्जापछि सुरु भएको द्वन्द्वदेखि नै द्रापाती अनुभवी र प्रभावशाली कमान्डरका रूपमा परिचित छन्।
राष्ट्रपति जेलेन्स्कीले नयाँ सैन्य नेतृत्वलाई कोर प्रणाली सुधार, हतियार तथा ड्रोन आपूर्ति तीव्र बनाउने, हवाई प्रतिरक्षा बलियो पार्ने र स्पष्ट युद्ध रणनीति तयार गर्न निर्देशन दिएका छन्।
यसअघि रक्षामन्त्री रहेका फेडोरोभलाई युक्रेनको ड्रोन प्रविधि विकासमा महत्वपूर्ण भूमिका खेलेको श्रेय दिइन्छ। उनले सिरस्कीको कार्यशैलीको आलोचना गर्दै सैन्य सुधारमा अवरोध गरेको आरोप लगाएका थिए।
फेडोरोभलाई पुनः जिम्मेवारीमा फर्काउन र सिरस्कीलाई हटाउन माग गर्दै किभलगायत विभिन्न सहरमा प्रदर्शनसमेत भएका थिए। प्रदर्शनपछि जेलेन्स्कीले सैन्य नेतृत्व पुनर्संरचना गरेका हुन्।
फेडोरोभले द्रापातीको नियुक्तिलाई स्वागत गर्दै युक्रेनको संघर्षमा नयाँ आशाको सुरुवात भएको बताएका छन्। उनले सिरस्कीले किभको रक्षा र खार्किभ प्रतिआक्रमणजस्ता अभियानमा पुर्याएको योगदानको पनि प्रशंसा गरेका छन्।
पछिल्लो राजनीतिक असन्तुष्टिपछि भएको सैन्य नेतृत्व परिवर्तनलाई युक्रेनको युद्ध रणनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।