दाङमा एक वर्षमा ३४७ सवारी दुर्घटना, ७२ जनाको मृत्यु
दाङ — दाङमा आर्थिक वर्ष २०८२–८३ मा भएका ३४७ सवारी दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ।
ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक केशव खड्काका अनुसार मृत्यु हुनेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेका छन्। दुर्घटनामा १६३ पुरुष, ४७ महिला, १६ बालक र छ बालिका गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार सबैभन्दा बढी २८१ वटा मोटरसाइकल दुर्घटना भएका छन्। तीव्र गति, मादक पदार्थ सेवन, चालकको लापरवाही, सडकको अवस्था र सवारीसाधनमा हुने यान्त्रिक गडबडी दुर्घटनाका प्रमुख कारण रहेको प्रहरीले जनाएको छ।
गत चैतमा तुलसीपुर र गढवामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको थियो। प्रहरी अनुसन्धानले दुवै घटना तीव्र गतिका कारण भएको निष्कर्ष निकालेको छ।
सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सडक सुरक्षा सचेतना कार्यक्रम, जथाभावी सडक पार गर्ने पैदलयात्रीलाई सचेत गराउने अभियान तथा चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।