अमेरिकीलाई अवैध भिसा दिएको आरोपमा अध्यागमनका कर्मचारीसहित २ जनाविरुद्ध मुद्दा
अध्यागमन विभागको सूचना प्रणाली दुरुपयोग गरी एक अमेरिकी नागरिकलाई गैरकानुनी रूपमा आवासीय भिसा उपलब्ध गराएको अभियोगमा २ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
अख्तियारले अध्यागमन विभाग, गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजीव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सन (Dean Jay Robinson) विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार, कम्प्युटर अपरेटर राजीव महतोले अध्यागमन सूचना प्रणाली (नेपाली पोर्ट) मा रहेको ‘ट्राभलर सेन्ट्रलाइजेसन’ सुविधाको दुरुपयोग गरेका थिए । उनले लक्जेम्वर्गका नागरिक पल क्रिस्चियन पियरे गेडिट्जको नाममा जारी भएको आवासीय भिसाको अभिलेखलाई केरमेट र सच्याएर अमेरिकी नागरिक डिन जे रोबिन्सनको नाममा प्रविष्ट (एकीकृत) गरेका थिए ।
आवासीय भिसा प्राप्त गर्न अयोग्य अमेरिकी नागरिक रोबिन्सनसँगको मिलेमतोमा महतोले कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी, अधिकारप्राप्त अधिकारीको निर्णयबिना र तोकिएको राजस्व समेत दाखिला नगरी उक्त भिसा प्रिन्ट गरिदिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । सोही कीर्ते भिसाका आधारमा ती अमेरिकी नागरिक नेपालमा बसोबास गर्दै आएका थिए।
सरकारी अभिलेख यथार्थ राख्नुपर्ने कर्तव्यविपरीत महतोले प्रणालीको दुरुपयोग गरी सरकारी अभिलेख सच्याउने, थपघट गर्ने र हेरफेर गरी नेपाल सरकार र अध्यागमन विभागलाई हानि पुऱ्याएको भन्दै कैद र जरिवानाको मागदाबी गरिएको छ ।
त्यसैगरी, अमेरिकी नागरिक डिन जे रोबिन्सनले कर्मचारीलाई प्रलोभनमा पारी गैरकानुनी लाभ लिएको र भ्रष्टाचारमा मतियारको भूमिका निर्वाह गरेको भन्दै उनलाई पनि मुख्य कसुरदार महतो सरह नै कैद र जरिवानाको मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।