दुर्गा प्रसाईंको बिर्तामोडस्थित होटलको लागत फेरि बढ्ने संकेत
काठमाडौं, असार ३२ — व्यवसायी दुर्गा प्रसाईंको लगानीमा झापाको बिर्तामोडमा निर्माणाधीन होटल अट्रियमको लागत पुनः बढ्ने संकेत देखिएको छ। होटलको डिजाइन परिमार्जन, थप सुविधा विस्तार तथा निर्माण अवधि लम्बिँदा परियोजनाको लागत बढ्न सक्ने कम्पनीले जनाएको छ।
सुरुआतमा २ अर्ब ८४ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको होटलको बजेट यसअघि नै बढाएर ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ पुर्याइएको थियो। सुरुमा ९६ कोठा रहने योजना रहेको होटलमा अहिले ९८ कोठा निर्माण भइरहेको छ।
कम्पनीका अनुसार थप सिभिल, मेकानिकल तथा फर्निचरसम्बन्धी काम, ब्याङ्क्वैट र क्यासिनो क्षेत्रको डिजाइन परिमार्जन तथा सुविधा विस्तारका कारण लागत वृद्धि हुने अवस्था सिर्जना भएको हो। निर्माण अवधि लम्बिँदा ब्याज खर्चसमेत बढ्ने कम्पनीको भनाइ छ।
परियोजनाको वित्तीय संरचना ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीमा आधारित रहेको छ। हालसम्म २ अर्ब ३६ करोड ९० लाख रुपैयाँको वित्तीय व्यवस्थापन भइसकेको कम्पनीले जनाएको छ।
सन् २०१६ मा स्थापना भएको कम्पनीले १६ हजार ८४३ वर्गफुट क्षेत्रफलमा ९८ कोठायुक्त लक्जरी होटल निर्माण गरिरहेको छ। निर्माण कार्य अन्तिम चरणमा पुगे पनि तोकिएको समय र अनुमानित लागतभित्र परियोजना सम्पन्न गर्न चुनौती रहेको कम्पनीले उल्लेख गरेको छ। साथै, कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब रुपैयाँको क्रेडिट रेटिङ पनि गराएको छ।