म्यासेन्जरमा छात्राहरूलाई यौनजन्य म्यासेज गर्ने थप एक शिक्षक पक्राउ
मोरङको सुन्दरहरैँचा-१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा थप एक शिक्षक पक्राउ परेका छन्।
यसअघि हिजो छात्राहरूलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक र एक जना चालक पक्राउ परेका थिए । आज थप एक शिक्षक पक्राउ परेसँगै पक्राउ पर्नेहरूको सङ्ख्या चार पुगेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डिएसपी मकेन्द्र मिश्रका अनुसार फरार रहेका सङ्गीत शिक्षक भीम नेपाललाई पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि प्रहरीले शिक्षक अविरल मास्के, शिक्षक किशोरलाल गच्छेदार र बस चालक प्रदीप भट्टराईलाई सोमबार बिहान पक्राउ गरेको थियो।
उनीहरूलाई सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याट र उजुरीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। डिएसपी मिश्रका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध म्याद थप गरी अनुसन्धान अघि बढाइने तयारी भइरहेको छ।
विद्यालयले यसअघि शिक्षक अविरल मास्के, सङ्गीत शिक्षक भीम नेपाल र बस चालक प्रदीप भट्टराईलाई आचरण विपरीत कार्य गरेको आरोपमा निलम्बन गरेको जनाएको छ।
यस प्रकरणमा विद्यालयका प्रधानाध्यापक हिक्मत बस्नेतसहित अन्य केही शिक्षकको नाम पनि सामाजिक सञ्जालमा जोडिएपछि प्रहरीले सार्वजनिक भएका सामग्रीको सत्यता र सम्भावित संलग्नताबारे अनुसन्धान गरिरहेको जनाएको छ।
पक्राउ परेका शिक्षकहरूले छात्राहरूलाई पास गराई दिने र नम्बर बढी दिने भन्दै म्यासेन्जरमा यौनजन्य म्यासेज पठाएको घटना सार्वजनिक भएको छ । पीडित छात्राहरूले समेत यस विषयमा बताएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।