अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
अनसनरत डा.गोविन्द केसीका समर्थकहरूले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूले डा. केसीका माग पूरा गर्न दबाब दिएका हुन्। सत्याग्रहको जीवन रक्षा गरिनुपर्ने, पूर्वाधार बिनाका मेडिकल कलेजको सिट बढाउन नहुने उनीहरूको माग छ।
एमबीबीएसमा छात्रवृत्ति कोटा घटाउन नहुने प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । डा. केसीले आफू गेटा मेडिकल कलेज वा विश्वविद्यालयको विरोधी नभएको प्रस्ट पार्दै त्यहाँ हुने नियुक्तिहरूमाथि प्रश्न उठाएका छन्।
डा. केसीले चिकित्सा शिक्षा आयोगको गरिमा जोगाउनुपर्ने र आयोगले निर्धारण गरेका मापदण्डविपरीत निजी कलेजहरूमा सिट सङ्ख्या बढाउने वा छात्रवृत्ति कटौती गर्ने जस्ता कार्यहरू तत्काल रोक्नुपर्ने माग अघि सारेका छन्।
उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को मर्मअनुसार चिकित्सा शिक्षालाई पूर्ण रूपमा नाफारहित बनाउनुपर्ने र सरकारी छात्रवृत्तिमा अध्ययनरत चिकित्सकहरूको परिचालनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्।