प्रतिपक्षविहीन प्रदेश सरकार स्वीकार्य छैन: सभापति गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकारहरूमा प्रतिपक्ष नै नरहने गरी तीन दलीय सरकार गठन गर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताएका छन्।
आइतबार आयोजित ४४औँ बीपी स्मृति सप्ताह तथा नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा बोल्दै सभापति थापाले लोकतन्त्रको आधार नै सशक्त प्रतिपक्ष भएको उल्लेख गरे। उनले प्रतिपक्षविहीन व्यवस्था लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताए।
थापाले सरकार र प्रतिपक्ष दुवै लोकतान्त्रिक शासन प्रणालीका अभिन्न अंग रहेको भन्दै सबै दल सरकारमा सहभागी हुने अभ्यासले जनप्रतिनिधिमूलक प्रणाली कमजोर बनाउने धारणा राखे।
प्रदेश सरकार गठन वा पुनर्गठनका नाममा प्रतिपक्षलाई समाप्त पार्ने कुनै पनि राजनीतिक अभ्यासले लोकतान्त्रिक प्रणालीमा क्षति पुर्याउने उनको चेतावनी थियो। उनले जनमतको सम्मान गर्दै संविधानको भावना र संसदीय परम्पराअनुसार सरकार गठन हुनुपर्नेमा जोड दिए।
कांग्रेस सभापति थापाले लोकतन्त्र, संवैधानिक व्यवस्था र संसदीय अभ्यासलाई कमजोर बनाउने कुनै पनि प्रस्तावको पक्षमा पार्टी नरहने स्पष्ट पारे।
उनले कांग्रेसभित्र एकता, अनुशासन र जनविश्वासलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउँदै नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने बताए।
कार्यक्रममा उनले लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किशुनजी) ले स्थापित गरेको लोकतान्त्रिक मूल्य, आदर्श र नैतिक राजनीतिक संस्कृतिलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखे। कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।