जंगली च्याउ खाँदा एक महिलाको मृत्यु
दाङको तुलसीपुरमा जङ्गली च्याउ खाएर बिरामी भएकी एक गृहिणीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको शनिबार मृत्यु भएको हो ।
गत असार ३१ गते जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई परिवारका ७ जना बिरामी परेका थिए । च्याउ खाएर बिरामी परेकामध्ये दुई जनालाई घरायसी उपचार गरिएको थियो । अन्य पाँच जनालाई अस्पताल लगिएको थियो ।
बिरामी परेकी दीपालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि घोराही लगिएको थियो । घोराहीमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।