कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न नेपाली कम्युनिष्ट पार्टीको माग
नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको भर्त्सना गरेको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा दुई पक्षबीचको विवादले उग्र रूप लिएपछि उत्पन्न तनावलाई समाधान गर्ने क्रममा सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएको आरोप लगाइएको छ।
विज्ञप्तिमा सुरक्षाकर्मीको गोली लागेर देवानगञ्ज–४ का ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ व्यक्ति घाइते भएको उल्लेख गरिएको छ। पार्टीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
नेपाली कम्युनिष्ट पार्टीले नागरिकको सुरक्षा सुनिश्चित गर्नु राज्यको जिम्मेवारी भएको भन्दै घटनामा सुरक्षाकर्मीको भूमिका गम्भीर छानबिनको विषय भएको जनाएको छ। पार्टीले जथाभावी बल प्रयोग गरी नागरिकको ज्यान लिनु सुरक्षा व्यवस्थापनमा भएको गम्भीर कमजोरी र कानुनविपरीतको कार्य भएको दाबी गरेको छ।
सरकारी निकायको गैरजिम्मेवार व्यवहारका कारण अवस्था थप जटिल बनेको उल्लेख गर्दै पार्टीले घटनालाई मानवअधिकार उल्लङ्घनको रूपमा व्याख्या गरेको छ। नागरिकको मृत्यु र ठूलो संख्यामा मानिस घाइते भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने पार्टीको भनाइ छ।
पार्टीले कप्तानगञ्ज घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ। साथै, मृतक परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
शान्ति–सुरक्षा कायम राख्न, स्थानीय स्तरका विवादलाई वार्ता र संवादमार्फत समाधान गर्न तथा सामाजिक सद्भाव कायम राख्न पार्टीले स्थानीय समुदाय, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र मानवअधिकारकर्मीहरूलाई संयम अपनाउन अपिलसमेत गरेको छ।