दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
काठमाडौं — सरकारले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्र (एमओयू) गर्ने प्रक्रिया अघि बढाइएको छ। हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन हुँदै आएका छन्।
मन्त्रालयले आगामी चरणमा उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधिसमेत स्वदेशमै उत्पादन गर्ने योजना बनाएको जनाएको छ। त्यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीलाई तीव्रता दिइनेछ।
कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने र सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गरिने मन्त्रालयले जनाएको छ।
समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच नियमित, सहज तथा संस्थागत प्रणालीमार्फत हुने व्यवस्था गरिनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै स्वदेशी उत्पादनको उपयोग र बजार विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिनेछ।
सरकारले यस पहलबाट स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने दीर्घकालीन लक्ष्यलाई थप मजबुत बनाउने विश्वास लिएको छ।