हिटलरको जन्मघर अब प्रहरी कार्यालय, नाजी प्रतीक बन्न नदिन अस्ट्रियाको कदम
काठमाडौं — अस्ट्रियाले नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम दक्षिणपन्थी समर्थकहरूको तीर्थस्थल बन्न नदिन उक्त भवनलाई औपचारिक रूपमा प्रहरी कार्यालयमा रूपान्तरण गरेको छ।
थुप्रै वर्षको विवाद र कानुनी प्रक्रियापछि ब्राउनाउ आम इनस्थित १७औँ शताब्दीको भवन बुधबारदेखि नयाँ प्रहरी कार्यालयका रूपमा सञ्चालनमा आएको हो। करिब दुई करोड युरो खर्चेर पुनर्निर्माण गरिएको भवनको बाहिरी स्वरूप पनि पूर्ण रूपमा परिवर्तन गरिएको छ।
अधिकारीहरूका अनुसार हिटलरको जन्मघरलाई प्रहरी कार्यालय बनाउने निर्णयले नाजी विचारधाराको प्रतीकका रूपमा यसको दुरुपयोग हुन नदिने विश्वास गरिएको छ। भवनबाहिर भने ‘शान्ति, स्वतन्त्रता र लोकतन्त्रका लागि, फेरि कहिल्यै फासीवाद होइन’ भन्ने सन्देशसहितको स्मारक शिलालेख यथावत् राखिएको छ।
एडोल्फ हिटलरको जन्म सन् १८८९ अप्रिल २० मा यही भवनमा भएको थियो। भवन सन् १९१२ देखि एउटै परिवारको स्वामित्वमा रहे पनि सन् २०१६ मा अस्ट्रियाली संसद्ले विशेष कानुनमार्फत अधिग्रहण गर्ने निर्णय गरेको थियो।
भवन भत्काउने, संग्रहालय बनाउने वा अन्य प्रयोजनमा प्रयोग गर्ने विकल्पमाथि लामो बहसपछि विशेषज्ञ आयोगको सिफारिसअनुसार यसलाई प्रहरी कार्यालय बनाउने निर्णय गरिएको हो। सरकारले यसबाट नाजी विचारधाराप्रति कुनै सहिष्णुता नरहेको स्पष्ट सन्देश जाने विश्वास व्यक्त गरेको छ।
यद्यपि, केही मानवअधिकारकर्मी र इतिहासविद्हरूले भने भवनको प्रयोग परिवर्तन हुँदैमा नव–नाजी समर्थकहरूको आकर्षण पूर्ण रूपमा अन्त्य नहुने टिप्पणी गरेका छन्।