धनुषामा लगाइएको कर्फ्यु आंशिक खुकुलो, अत्यावश्यक सामग्री किन्न समय दिइयो
जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा जारी कर्फ्युलाई सर्वसाधारणको सुविधाका लागि शुक्रबार बिहान केही समय खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले एक सूचना जारी गर्दै दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि बिहान दुई घण्टा कर्फ्यु खुकुलो पारिएको जानकारी दिएका छन् ।
बिहीबार जारी कर्फ्युका कारण जनजीवन प्रभावित भएपछि प्रशासनले आज बिहान ६ बजेदेखि ८ बजेसम्मका लागि आंशिक रूपमा खुकुलो गर्ने निर्णय गरेको हो । यस अवधिमा सर्वसाधारणले दूध, तरकारी, फलफूल र खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन् । प्रशासनले निर्धारित समयभित्रै सामान खरिद गरी आफ्नो निवासमा फर्कन र कर्फ्युको पूर्ण पालना गर्न सबैमा अनुरोध गरेको छ ।
कर्फ्यु जारी रहे पनि केही विशिष्ट सेवाहरू भने नियमित रूपमा सुचारु रहने प्रशासनले जनाएको छ । विशेष जिम्मेवारीमा रहेका व्यक्तिहरू र जरुरी काम परेकाहरूका लागि परिचय पत्रका आधारमा आवातजावतको व्यवस्था मिलाइएको छ ।
स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री र बिरामीहरूले प्रमाण वा परिचय पत्र बोकेर हिँड्न पाउनेछन् । यस्तै, एयरपोर्ट जाने वा फर्कने यात्रु र उनीहरूलाई लिन जाने व्यक्तिहरूलाई पनि परिचय पत्रको आधारमा छुट दिइने सूचनामा उल्लेख छ ।