अभियन्ता वेदिका केसी पक्राउ
सामाजिक अभियन्ता वेदिका केसीलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले बिहीबार पक्राउ गरेको छ। साइबर ब्युरोका प्रवक्ता एसपी दिलीप कुमार गिरीका अनुसार केसीविरुद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार कथावाचिका राधिका दासीले दिएको उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको हो। उजुरीमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, गाली–बेइज्जती गर्ने तथा विद्युतीय माध्यमबाट कसुर गरेको आरोप लगाइएको छ।
वेदिका केसी पछिल्लो समय आफूलाई धर्मभित्र रहेका विकृति तथा गलत प्रवृत्तिविरुद्ध आवाज उठाउने अभियन्ताका रूपमा प्रस्तुत गर्दै सामाजिक सञ्जालमा सक्रिय रहँदै आएकी थिइन्। हाल उनीविरुद्धको उजुरीमाथि साइबर ब्युरोले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।