नारायणगढ–मुग्लिन सडकमा ओभरटेक बढेपछि प्रशासनको चेतावनी, चालकलाई नियम पालना गर्न आग्रह
वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
आइतबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा ३० जना घाइते भएका थिए। दुर्घटनापछि केही समय सडक अवरुद्धसमेत भएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले मुग्लिनतर्फ जाँदै गरेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताए। उनका अनुसार पछिल्लो समय ओभरटेक नै सडक दुर्घटना र सवारीजामको प्रमुख कारण बन्दै गएको छ।
उनले ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै लामो समयसम्म सवारीजाम हुने, एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई बाटो खुलाउन कठिन हुने र उद्धार कार्यमा समेत ढिलाइ हुने बताए।
बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले शनिबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडक र चितवन क्षेत्रमा पर्ने पृथ्वी राजमार्गमा सवारी सञ्चालन अस्थायी रूपमा रोकेको थियो। बिहान ५ः३० बजे सडक खुलेपछि चालकहरूले हतारमा ओभरटेक गर्दा समस्या देखिएको प्रशासनको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक नियम पालना गरे दुर्घटना र सवारीजाम दुवै घटाउन सकिने बताए।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा बाढी र पहिरोको जोखिमका कारण रातको समयमा सवारी सञ्चालन रोक्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै सडक खुलेपछि चालकलाई आफ्नै लेनमा सवारी चलाउन र अनावश्यक ओभरटेक नगर्न आग्रह गरे।
उनले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिँदै सुरक्षित यातायातका लागि चालक, यात्रु र प्रशासन सबैको सहकार्य आवश्यक रहेको बताए।