तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ।
प्रहरीका अनुसार मृतक तारकेश्वर–९ शुभकामना चोककी ४५ वर्षीया रश्मी रिजाल हुन्। उनी साउन ८ गतेदेखि सम्पर्कविहीन थिइन्।
शनिबार दिउँसो कारको पछाडिको सिटमा जलेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ।
मृत्युको कारण र घटनाको प्रकृतिबारे यकिन गर्न प्रहरीले थप अनुसन्धान गरिरहेको छ। शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।