पोखराका चोरी घटनामा संलग्न आरोपमा चार विदेशी नागरिकसहित नौ जना पक्राउ
पोखरा — पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले चार विदेशी नागरिकसहित नौ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक राहुल निषाद, सोमनाथ हनुमन्त जाधव तथा चिनियाँ नागरिक वेन जिई र वाङ ल्यानयिन रहेका छन्।
यस्तै, स्याङ्जाको चापाकोट नगरपालिका–का ४२ वर्षीय राजकुमार विक, पोखरा महानगरपालिका–१६ का ५१ वर्षीय केशव पाइजा मगर, अन्नपूर्ण गाउँपालिका–७ का खिमबहादुर क्षेत्री, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ का अशोक पोख्रेल र बागलुङ नगरपालिका–१२ का २७ वर्षीय अनिल विक पनि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद, सुन, मोबाइल, ल्यापटप, घडीलगायत चोरीका सामग्री बरामद गरिएको छ।
प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पोखराका विभिन्न स्थानमा केही समयदेखि भइरहेका चोरीका घटनाको सूक्ष्म अनुसन्धानका क्रममा उक्त समूह पक्राउ परेको हो।
पक्राउ परेकाविरुद्ध चोरी तथा डाँका मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।