युवालाई रोजगारी र प्रशिक्षण विस्तार गर्न मन्त्री चौधरीको निर्देशन
काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण र स्वयंसेवाका अवसर विस्तार गर्न निर्देशन दिएकी छन्।
मन्त्रालयमा आयोजित छलफलमा मन्त्री चौधरीले युवा पुस्ताको सरकारप्रतिको अपेक्षा पूरा गर्न परिणाम देखिने गरी काम गर्नुपर्ने बताइन्। उनले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न मन्त्रालय तयार रहेको उल्लेख गरिन्।
मन्त्री चौधरीले यसै महिनाभित्र युवालाई रोजगारी, प्रशिक्षण र स्वयंसेवा कार्यक्रममा सहभागी गराउने सम्भावना तथा कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गर्न निर्देशन दिइन्।
छलफलमा मन्त्रालयअन्तर्गतका निकायका प्रमुखहरूले हाल पनि विभिन्न प्रशिक्षण तथा स्वयंसेवा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीलाई इन्टर्नशिपमा सहभागी गराउने प्रयास भइरहेको बताएका थिए।