कर्णाली नदी दुर्घटना: मृतकको संख्या तीन पुग्यो, बेपत्ताको खोजी जारी
दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा भएको सवारी दुर्घटनामा परी कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ। योसँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको संख्या तीन पुगेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार बिहीबार साँझ फेला परेका शव आफन्तले पहिचान गरी बुझेका छन्। पहिचान हुनेमा कालिकोट पचाल झरना गाउँपालिका–९ का जेखे तिरुवा, सोही ठाउँका मेखे तिरुवा र कालिकोट रास्कोट नगरपालिका–२ की १८ वर्षीया सुजना खड्का रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनामा परेका सवारी चालक सुर्खेत पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी र उनका सहोदर भाइ तथा सहचालक रामु सुवेदीसहित अन्य यात्रुको अवस्था अझै अज्ञात छ। बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको संयुक्त टोली नदी र आसपासका क्षेत्रमा परिचालन गरिएको छ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी गत बिहीबार सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा पुगेको थियो।
दुर्घटनामा बेपत्ता भएका दाजुभाइ तुलाराम र रामु सुवेदीको परिवारमा गहिरो शोक छाएको छ। आफन्तका अनुसार उनीहरू परिवारका मुख्य आधार रहेकाले दुर्घटनाले ठूलो पीडा दिएको छ।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीसहित सुरक्षा निकायले बाँकी बेपत्ताको खोजी कार्यलाई निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ।