अव्यवस्थित तार व्यवस्थापनका लागि आइस्पानले माग्यो थप १५ दिन समय
काठमाडौं — काठमाडौँ उपत्यकाका बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनका लागि इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले थप १५ दिनको समय मागेको छ।
तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न नसकेपछि सूचना तथा सञ्चार मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायको बैठकमा आइस्पानले अन्तिम पटक थप समय आवश्यक रहेको जनाएको हो।
बैठकमा सूचना तथा सञ्चार मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, आइस्पानलगायत सम्बन्धित निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।
बैठकमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अव्यवस्थित तार व्यवस्थापनको प्रगति, कार्यान्वयनका क्रममा देखिएका समस्या र समाधानका उपायबारे छलफल गर्दै तोकिएको समयभित्र काम पूरा गर्न निर्देशन दिए।
उनले तार व्यवस्थापनलाई सरकारले निष्कर्षमा पुर्याएरै छाड्ने बताउँदै थप समय लम्ब्याउने अवस्था नरहेको स्पष्ट पारे। मन्त्री तिमिल्सिनाले सेवा प्रदायकको कानुनी तथा व्यावसायिक दायित्वभित्र पर्ने काम समयमै सम्पन्न हुनुपर्ने उल्लेख गरे।
उनले तोकिएको समयमा काम सम्पन्न हुन नसक्नु आइस्पान र नियामक नेपाल दूरसञ्चार प्राधिकरण दुवैको कमजोरी भएको भन्दै सरकारले समस्या समाधानमा सहयोग गर्ने तर काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए।
आइस्पानका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले काठमाडौँ उपत्यकामा पहिलो चरणअन्तर्गत तोकिएका छ वटा रुटमध्ये हालसम्म करिब ५८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।
उनका अनुसार उपत्यकासँगै देशका अन्य क्षेत्रमा पनि तार व्यवस्थापनको काम भइरहेको छ। दीर्घकालीन समाधानका लागि छुट्टै पूर्वाधार कम्पनी स्थापना गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
आइस्पानले नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन भूमिगत गर्दा इन्टरनेट तथा केवल सेवाका तारका लागि पर्याप्त पूर्वाधार नबनाइएको विषय पनि उठाएको छ। कलङ्की–थानकोट, चाबहिल–बौद्धलगायत क्षेत्रमा पाइलट परियोजनाका रूपमा सेवा प्रदायक आफैँले भूमिगत तार विस्तार गरिरहेको जनाएको छ।
सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणबाट आवश्यक जनशक्ति फिल्डमा नखटिनु, प्रहरी तथा ट्राफिकबाट काममा अवरोध हुने अवस्था आउनु र दक्ष जनशक्तिको अभाव रहेको गुनासो गरेका छन्।
गत असार ३१ गते भएको उच्चस्तरीय अन्तरनिकाय बैठकमा आइस्पानले काठमाडौँ उपत्यकाका छ वटा क्षेत्रमा साउन १५ गतेभित्र अव्यवस्थित तार व्यवस्थापन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो।
पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोङ्गबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा तार व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।
बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई नेतृत्वदायी तथा नियामकीय भूमिका निर्वाह गर्ने, सेवा प्रदायकले आफ्ना तारमा स्पष्ट पहिचान खुल्ने ट्याग राख्ने र नियमित अनुगमन तथा समन्वय गर्ने निर्णय गरेको थियो।