विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा.रामप्रसाद धिताललाई पुनः नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
धितालले सरकारले नियुक्त गरेको खबर भर्खरै प्राप्त गरेको जानकारी दिए । काठमाडौँ विश्वविद्यालयमा अतिथि प्राध्यापक र संसद्को पूर्वाधार विकास समितिमा ऊर्जा सल्लाहकारको रूपमा समेत योगदान दिएका धितालबाट अब पुनः विद्युत् व्यापार, अन्तर्देशीय विद्युत् व्यापारको नियमन र ऊर्जा क्षेत्रको सुशासन प्रवर्द्धनमा ठोस काम हुने अपेक्षा गरिएको छ ।
बिहीबार पदभार ग्रहण गर्ने तयारीमा रहेका धितालले आफ्नो नियुक्तिपछि संक्षिप्त प्रतिक्रिया दिँदै आफू नियामक निकायको जिम्मेवारीलाई थप प्रभावकारी बनाउन लागिपर्ने बताए ।
सरकारले ल्याएको अध्यादेशका कारण पदमुक्त भएका धिताल पुनः खुल्ला प्रतिस्पर्धाबाट अध्यक्षमा नियुक्त भएका हुन् । धिताल यसअघि २०८१ असार ७ गते खुला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्त भएका थिए । ऊर्जा क्षेत्रमा करिब २५ वर्षभन्दा बढी अनुभव सँगालेका डा.धितालको व्यक्तिगत र व्यावसायिक पृष्ठभूमि निकै सबल रहेको छ ।