तादी गाउँपालिकाका समस्या समाधानमा संघीय पहल हुने : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटको तादी गाउँपालिकाको विकास, स्वास्थ्य, शिक्षा, सञ्चार, सडक, सिँचाइ तथा विपद् व्यवस्थापनका विषयमा गाउँपालिका अध्यक्ष सन्तमान तामाङसँग छलफल गरेका छन्।
छलफलमा अध्यक्ष तामाङले खरानीटारमा मालपोत–नापी कार्यालय स्थापना, तादी अस्पताल स्तरोन्नति, मुडुलेडाँडामा नेपाल टेलिकमको नेटवर्क विस्तार तथा सडक र सिँचाइ पूर्वाधार निर्माणका माग राखेका थिए।
मन्त्री तिमिल्सिनाले मुडुलेडाँडामा नेपाल टेलिकमको टावर तथा नेटवर्क विस्तारलाई प्राथमिकतामा राखेर अघि बढाउन निर्देशन दिइसकेको जानकारी दिँदै संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने योजनाहरू कार्यान्वयनका लागि आवश्यक पहल गरिने बताएका छन्।
उनले बाढी–पहिरो जोखिम व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका छन्।