एआईले पत्रकारको विकल्प होइन सहयोगी भूमिका निर्वाह गर्छ: चिनियाँ पत्रकारहरू
चीनको कुइचोउ प्रान्तमा आयोजित एक अन्तरक्रियामा वरिष्ठ पत्रकार तथा सम्पादकहरूले कृत्रिम बुद्धिमत्ता (एआई) ले पत्रकारको रोजगारी खोस्ने होइन, बरु सहयोगी प्रविधिका रूपमा काम गर्ने बताएका छन्।
कुइयाङ सहरमा भएको कार्यक्रममा कुइचोउ रेडियो तथा टेलिभिजन स्टेशनका पत्रकारहरूले एआईले भाषागत त्रुटि सुधार, ग्राफिक्स निर्माण, अनुवाद तथा सामग्री प्रशोधनमा सहयोग पुर्याए पनि वास्तविक समाचार सङ्कलन र फिल्ड रिपोर्टिङ मानव पत्रकारकै जिम्मेवारी रहने स्पष्ट पारे।
उप निर्देशक सीयु पोले एआईले घटनास्थलमा पुगेर रिपोर्टिङ गर्न नसक्ने भन्दै समाचारको मूल आधार फिल्ड रिपोर्टिङ नै रहने बताए। उनले पत्रकारलाई कार्यालयभन्दा फिल्डमा सक्रिय हुन आग्रह गरे।
त्यस्तै उपमहानिर्देशक लियु चिङयुआनले एआईले प्रसारण प्रणाली सुधार, त्रुटि पहिचान र सामग्री व्यवस्थापनमा सहयोग गरिरहेको भए पनि अन्तिम सम्पादन र गुणस्तर सुनिश्चित गर्ने काम पत्रकारकै हुने बताए।
अर्की उपनिर्देशक ख्वुआङ पेईले एआईले गलत सूचना पनि उत्पादन गर्न सक्ने भएकाले विश्वसनीय र जिम्मेवार पत्रकारिताको आवश्यकता झन् बढेको बताइन्।
कार्यक्रममा सहभागी पत्रकारहरूले एआईको युगमा पत्रकारिताको भविष्य प्रतिस्पर्धाभन्दा पनि प्रविधिको जिम्मेवार प्रयोग र मौलिक तथा तथ्यमा आधारित पत्रकारिताको सुदृढीकरणमा निर्भर हुने निष्कर्ष निकाले।