टीयू परिसरबाट पक्राउ परेका विद्यार्थी नेतालाई छाड्न नेविसंघको माग
नेविसंघले त्रिवि परिसरबाट पक्राउ गरिएका विद्यार्थी नेताहरूलाई छाड्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका मन्त्री पोखरेलविरुद्ध युवाहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाएपछि प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो ।
नेविसंघकी अध्यक्ष करुणा कटुवालले विज्ञप्ति जारी गर्दै शिक्षामन्त्री समक्ष आफ्नो शान्तिपूर्ण विरोध प्रदर्शन तथा असहमति दर्ता गराएकै आधारमा पक्राउ गरिएको बताएकी छन् । उनका अनुसार पक्राउ पर्नेमा त्रिभुवन विश्वविद्यालय, स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष सनम ओली, स्ववियू सचिव हिक्मत कुमार बुढा, स्ववियु सदस्य डम्मर सिंह एडि, कुल बहादुर बुढा, प्रकाश सन्जेल तथा विद्यार्थी दिनेश रेग्मी लगायत रहेका छन् ।
लोकतान्त्रिक व्यवस्थामा आफ्ना माग, असहमति र विरोधका स्वरहरू शान्तिपूर्ण रूपमा राख्न पाउनु प्रत्येक नागरिक तथा विद्यार्थीको संवैधानिक एवम् मौलिक अधिकार भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा विद्यार्थी प्रतिनिधिहरूले राखेको शान्तिपूर्ण विरोधलाई सुन्नुको सट्टा राज्यसत्ता र प्रहरी प्रशासनको दुरुपयोग गरी धरपकड गरिनु, गिरफ्तार गरिनु अत्यन्तै निन्दनीय र अलोकतान्त्रिक कदम हो। विरोध गरेकै भरमा विद्यार्थी प्रतिनिधिहरूलाई पक्राउ गरिनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित हुन सक्दैन ।’
राज्यको दमनकारी नीतिको घोर भर्त्सना गर्दै पक्राउ परेका युवाहरूलाई बिना सर्त तत्काल रिहाइ गर्न माग गरेको छ ।